काठमाडौं । प्रधानमन्त्री मातहत रहेको राजश्व अनुसन्धान विभागको अनुसन्धानले यो सुन तस्करी प्रकरणका नयाँ नयाँ तथ्यहरु खोलीरहेको छ । विभागका अनुसार शनिबार राति काठमाडौंको टोखामा एउटा सुन पगाल्ने कारखाना नै भेटिएको छ । “कारखानामा हामीले सिलबन्दी गरेका छौँ,” विभागका एक अधिकारीले भने, “त्यहाँ हेर्दा अहिलेसम्मकै ठूलो गोदाम, सुन पगाल्ने सामग्री भेटिएको छ ।” ती अधिकारीकाअनुसार यसअघि सोह्रखुट्टेमा बरामद गरिएका सामानमा सुनको तौल लिने, पगाल्ने मेसिन थिए तर टोखामा त ‘फ्याक्ट्री’ नै जस्तो छ । “यो अहिलेसम्मकै ठूलो ठाउँ हो,” स्रोतले भन्यो, “यो अवस्था हेर्दा सुन प्रकरणमा नेपालीमात्रै छैनन् । हाम्रो अनुसन्धान नेपालीमात्रै होइन, कनेक्सन कहाँ जोडिएको छ भन्नेमा केन्द्रित छ ।”
विमानस्थलमा अहिलेसम्म कै सबैभन्दा ठूलो परिमाणको अवैध सुन बरामद प्रकरणमा अहिलेसम्म १८ जना राजस्व अनुसन्धान विभागको अनुसन्धानको दायरामा आईसकेका छन् । पक्राउ परेका व्यक्तिको बयानका आधारमा पनि अनुसन्धान अघि बढाइएको छ । साउन ३ गते हङकङबाट काठमाडौं ल्याइएको स्कुटरको ब्रेक–शु भित्र भेटिएको करिब १ सय किलो सुन भन्सार जाँचपास कटिसकेपछि राजस्वको टोलीले बरामद गरेको थियो ।