काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले पार्टीलाई सुध्रिकरण गर्नुपर्ने बताएका छन् । आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसके कांग्रेस पार्टीका रुपमा रहन नसक्ने उनले बताए । युवा पंक्तिहरु, पढेलेखेका, देशबाहिर रहेका युवाहरुले र कांग्रेस कार्यकर्ताकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुुस् भनेको चौधरीले बताए ।
नयाँ पार्टीहरुले आर्थिक स्रोत, अनलाइन र टेक्नोलोजीको माध्यमबाट संगठन विस्तार गरिरहेको उनले सुनाए । उद्योगपति चौधरीले अर्थतन्त्र संकुचित भएको, बैंकमा तरलता भएपनि लगानी गर्न नसकेको, उद्योग बन्द गर्नुपर्ने परिस्थिति रहेको जस्ता समस्या बैठकमा सुनाए ।
मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती रहेको उनले सुनाए । चौधरी ४ मंसिरमा भएको चुनावमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।