काठमाडौं । भद्रकुमारी घलेको सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको प्रहरी बलसहितको टोली अनामनगरस्थित देवीनगर पुगेको छ ।
सरकारी जमिन अतिक्रमण गरी सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरिएको महानगरपालिकाले जनाएको छ ।
सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाउने काम भइरहेको महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
महानगरपालिका–१० देवीनगरमा रहेको घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो । सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ ।
सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।