किन सिंहदरबार धाउदैछन् मेयर बालेन्द्र शाह ?

किन सिंहदरबार धाउदैछन् मेयर बालेन्द्र शाह ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विगत केही दिन यता सिंहदरबार धाईरहेका छन् । बालेनले सरकारबाट असहयोग भएको भन्दै सामाजिक सञ्जालबाटै १४ बुँदे असन्तुष्टि पौख्दै २६ चैत २०७९ देखि सिंहदरबारको फोहोर उठाउन बन्द गराएका थिए ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि मन्त्रालयहरुसम्मले बोलाएका बैठकहरुमा महानगरका कर्मचारीहरुलाई नै प्रतिनिधिका रुपमा पठाइरहेका बालेन फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्री कार्यालयले बोलाएको बैठकमा पनि गएका थिएनन् । उद्यपि अदालतको आदेशपछि महानगरले सिंहदरबारको रोकिएको फोहोर उठाउन सुरु गरेको थियो ।

तर केही दिन यता बालेन सिंहदरबारमा भेटघाट गर्न पुगिरहेका छन् । सोमबार विहान बालेनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग भेटवार्ता गरे भने दिउँसो उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएको एक समन्वय बैठकमा भाग लिए ।

महानगरपालिकाका अनुसार विगतको तिक्तता बिर्सिएर सिंहदरबार जानुको कारण हो, नदी तथा खोला किनारको सुकुम्वासी बस्ती सार्ने सरकारी योजना । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै संघीय सरकारले नदी किनारका अव्यवस्थित बसोबासी र सुकुम्वासी वस्तीहरु व्यवस्थापनसहित हटाउने योजना ल्याएको छ । 

समस्या समाधानका लागि सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सरोकारवाला मन्त्रालय तथा निकायका प्रमुख एवम् पदाधिकारीको बैठकमा बालेनले पनि सक्रिय सहभागिता जनाएका छन् । उनले बैठकमा बागमती करिडोरको अव्यवस्थित बस्ती हटाउनका लागि गृह मन्त्रालयबाट सहयोगको अपेक्षा गरेको बताएका थिए ।

बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले बागमती करिडोरमा रहेको अनधिकृत बस्तीलाई हटाउन समन्वात्मक ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत तथ्यपरक ढङ्गले तयार गर्ने र वास्तविक सुकुम्वासीको पुनःस्थापना योजनासँग जोडेर बस्ती हटाउने काम सम्पन्न गर्ने बताएका छन् । सुकुम्वासी समस्या समाधान गर्ने विषय सबैको साझा जिम्मेवारी भएको जनाउँदै उनले वास्तविक सुकुम्वासीलाई पुनःस्थापना प्रक्रियामा लैजानुपर्नेमा जोड दिएका छन् ।

छलफलमा गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराई, भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मी, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, गृह मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।