एसीसी इमर्जिङ टिम्स एसिया कप : भारतसँगको हारसँगै समूह चरणबाटै बाहिरियो नेपाल

एसीसी इमर्जिङ टिम्स एसिया कप : भारतसँगको हारसँगै समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए सँग पराजित हुदै प्रतियोगिताको समूह चरणबाट बाहिरीएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । 

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ए ले २२ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । भारत ए का लागि अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्काको सहयोगमा ८७ रनको अर्धशतकीय ईनिङ खेले । साई शुदर्शनले ५२ बलमा ८ चौका र १ छक्काको सहयोगमा अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले ।

धुव्र जुरेले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १ विकेट लिए ।  त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३९ दशमलब २ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८५ बलमा ६५ रन बनाए । पौडेलले ७ चौका प्रहार गरेका थिए । गुलसन झाले ३० बलमा २ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए । 

नेपाललाई छैटौं विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गरेका थिए । सोमपाल स्पिनर मानव सुथारको बलमा १४ रनमा एलबीडब्लू आउट हुन पुगे ।आसिफ ७ र देव खनाल १५ रनमा आउट भए । देवले २१ बलमा ३ चौका प्रहार गरे ।

भारत ए का लागि निशान्त सिन्धुले ४ विकेट लिए । राजवर्धन हंगागेकारले ३ तथा हर्षित रानाले २ विकेट लिए ।

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ । आजै भएको अर्को खेलमा ओमानलाई पराजित गर्दै पाकिस्तान पनि सेमिफाइनल प्रवेश गरेको छ ।