वर्षाका कारण सडक अवरुद्ध, १८ सडक एकतर्फी संचालनमा

वर्षाका कारण सडक अवरुद्ध, १८ सडक एकतर्फी संचालनमा
फाईल तस्वीर


काठमाडौं । मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको छ । सडक विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् ।आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेरी राजमार्ग अन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम र गणेशचोक–ताप्लेजुङ्ग–ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो । यसैगरी तमोर करिडोर अन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकखण्ड पनि अवरुद्ध । यो सडकखण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्णरुपमा ठप्प भएको हो ।

१८ सडक भने एकतर्फी सन्चालनमा 
म्याग्दीको नौनीबगर, गुइथे, काभ्रे र बैसरी तथा पाल्पाको ढुंगाखानीमा पहिरो जाँदा तानसेन–रिडी–कोरला सडक एकतर्फी भएको छ । भने लमजुङको खरखरे भिर र मनाङको तिमाङमा पहिरो जाँदा डुम्रे–बेशीसहर–चामे सडक पनि एकतर्फी सन्चालन भइरहेको छ । त्यस्तै संखुवासभाको मुढे, हाइटार र दोभानमा पहिरो जाँदा कोशी राजमार्ग एकतर्फी भएको छ । र सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको हिउदे खोला, दोभान र गउडे पुलमा भएको क्षतिका कारण सडक एकतर्फी भएको छ ।


कर्णाली राजमार्ग र राप्ती राजमार्गमा पनि यातायातका साधन एकतर्फी सन्चालन भइरहेका छन् । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दहीखोला र राप्ती राजमार्ग अन्तर्गत सल्यानको चोरखोलामा पहिरो खसेको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको दाक्लुङ र हिँडीमा आएको समस्याले काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकखण्ड पनि एकतर्फी भएको सडक विभागले जनाएको छ ।