आगामी ३ दिन भारी वर्षाको सम्भावना, कुन–कुन जिल्लामा बाढीको जोखिम ?

आगामी ३ दिन भारी वर्षाको सम्भावना, कुन–कुन जिल्लामा बाढीको जोखिम ?

काठमाडौं । आगामी दुई दिन पूर्वी नेपालमा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको अनुमान गरिएको छ । 

महाशाखाले आउँदो ३ दिन पूर्वी, मध्य र पश्चिम भेगमा भारी वर्षाको सम्भावना जनाएको छ । आज र भोलि दुई दिन तराईका जिल्लाहरुमा हावाहुरीकोसमेत सम्भावना रहेको छ । यतिबेला कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेशका एक–दुई स्थानमा भारी वर्षासमेत भएको छ ।  आज रातभरी प्रदेश १ र मधेश प्रदेशमा वर्षा भइरहेको छ । प्रदेश १ का सुनसरीको धरान, चतरा, झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा आज बिहान मध्यमदेखि भारी वर्षा मापन भएको छ । यसैगरी गएराति बागमती प्रदेशको मकवानपुर र आसपासका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको छ ।

वर्षाका कारण बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।