सुनकोशी–मरिण डाइभर्सन निर्माणमा मजदूरको अवरोध

सुनकोशी–मरिण डाइभर्सन निर्माणमा मजदूरको अवरोध

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको निर्माण कार्यमा अवरोध सिर्जना भएको छ । आयोजनामा काम गर्दै आएका मजदुरहरूले हिजो शनिबारबाट आन्दोलन शुरु गरेकाले आयोजनाको काम प्रभावित हुन पुगेको हो । आन्दोलनरत मजदूरका अनुसार जिल्ला दररेटभन्दा कम पारिश्रमिक दिएकाले बाध्य भएर आन्दोलन शुरु गर्नुपरेको हो । 

आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले जिल्ला दररेटभन्दा कम पारिश्रमिक दिएको एक मजदूरले बताए । उनका अनुसार माग सम्बोधन नभएम्म सम्पूर्ण काम अनिश्चितकालका लागि बन्द गरिएको छ ।

आयोजनाले दिएको तलब, सेवा–सुविधा अत्यन्तै न्यून रहेकाले उक्त तलबले आफू र परिवार धान्न कठिन भएको भन्दै मजदूरहरुले आनदोलन शुरु गरेका हुन् । आन्दोलन शुरु गर्नुपूर्व शनिबार मजदुरहरूले आयोजनाको निर्माण कम्पनीलाई ज्ञापनपत्र बुझाएका थिए । 

ज्ञापनपत्रमा पारिश्रमिकमा जिल्ला दररेट कायम हुनुपर्ने, ओभर टाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभर टाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभर टाइम हुनुपर्ने, दसैं बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित नर्मल हाजिरी हुनुपर्नेलगायतका माग राखेका छन् ।

आयोजनामा काम गर्ने मजदूरहरुले अहिले ८ घण्टा समय काम गरेबापत दैनिक सुख्खा ५८० रुपैयाँ प्राप्त गर्दछन् । आयोजनामा ३०० भन्दा बढी मजदूर कार्यरत छन् । चाइना ओभरसिज इन्जिनियरिङ ग्रप कम्पनीले भने आयोजना अन्तर्राष्ट्रीय स्तरको भएको र केन्द्रीय सरकारको दररेटअनुसार मजदुरहरूलाई पारिश्रमिक दिँदै आएको बताएको छ ।