बिनाकसुर ४० वर्ष जेलमा राखिएका दुर्गाप्रसादलाई आठ लाख क्षतिपूर्ति

बिनाकसुर ४० वर्ष जेलमा राखिएका दुर्गाप्रसादलाई आठ लाख क्षतिपूर्ति

काठमाडाैं । ४० वर्षसम्म बिना सुनुवाइ भारतीय जेलमा राखिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई आठ लाख (पाँच लाख भारतीय रुपैयाँ) तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो।

अदालतले उक्त रकम ६ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न पनि भनेको उनको मुद्दा लडेका अधिवक्ता हिरक सिन्हाले जानकारी दिए। तिम्सिनालाई  जेलबाट छुटाउन महत्वपूर्ण भूमिका खेलेका पश्चिम बंगाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले अदालतको फैसला सकारात्मक भएको बताए।

हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई गत वर्ष चैतसम्म पश्चिम बंगालका विभिन्न जेलहरूमा राखिएको थियो। बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहा गर्न आदेश दिएको थियो। 

अदालतको आदेशपछि रिहा भएका तिम्सिना गत चैतमा इलामको लुम्बाकमा रहेको घरमा फर्किएक थिए।

चार दशक लामो जेल जीवन बिताएका तिम्सिनाको घरमा आर्थिक अवस्था कमजोर छ। परिवार र समाजसँग घुलमिल हुन उनलाई समस्या भएपछि केही महिनाअघि उनलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको उनका भतिजा गोपाल तिम्सिनाले जानकारी दिए।