राप्रपासँग हातेमालो गर्न एमाले तयार : इश्वर पोखरेल

राप्रपासँग हातेमालो गर्न एमाले तयार : इश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपासँग सही मुद्दामा पार्टीले हातेमालो गर्ने बताएका छन् । 

राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनहित र मुलुकको समृद्धिका लागि हातेमालो गर्नुको विकल्प नभएको पनि बताए । 

पार्टी अलग अलग भए पनि देश बनाउने, देशको स्वाभिमानको रक्षा गर्ने सवालमा हामी सबै एक हुनुपर्ने धारणा व्यक्त गरे । आन्तरिक विचार फरक भएपनि गन्तव्य एउटै हुन आवश्यक रहेको औल्याए । 

जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके राजनीतिक दलको उपयोगिता समाप्त हुने भन्दै अहिलेको आवश्यकता मुलुक र र जनताको मुद्दा रहेकाले यसलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गरे । अहिले नेकपा एमाले संगठनलाई सुदृढ, व्यवस्थित गर्ने अभियानमा लागेको भन्दै अब आर्थिक विकासको अभियानमा क्रियाशील हुन चाहेको समेत उल्लेख गरे ।

उनले सामाजिक सद्भाव कायम गर्दै समाजका विकृति र विसंगतीको अन्त्य गर्ने उद्देश्य रहेको दावी गरे । मुलुकको राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकृत हुँदै गएको उल्लेख गर्दै उनले राप्रपालाई देश र जनताको समृद्धितर्फको यात्रामा लाग्न सुझाव दिए ।