त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ किलो सुन बरामद

काठमाडौं । खाडी मुलुकबाट नेपाल फर्किएकाहरुको साथबाट २१ किलो सुन बरामद भएको छ । काचो सुनलाई पगाडी बाला आकार दिइएको उक्त सुन विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका हुन् ।

उनीहरुले ४ सय १५ जनाको साथबाट सो परिमाणमा सुन बरामद गरेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए । जसमध्ये १ सय ९५ जनाले राजस्व तिरेर आफ्नो सुन फिर्ता लगेका छन् भने अन्य सुनहरु सुरक्षित राखिएको भट्टराईले जानकारी दिए ।

यसअघि सुन पकालेर ल्याउँदा विमानस्थलमा भन्सार छुट हुने भएपनि अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार महसुल लिन थालेको छ । 
 ५० ग्रामसम्मको गहनामा भन्सार शुल्क लाग्दैन ।

५० ग्रामभन्दा माथि थप २ सय ग्रामसम्म भन्सार महसुल तिरेर ल्याउन पाइन्छ । तर विदेशबाट फर्किनेहरूलाई सुन तस्करहरूले भरियाको रूपमा प्रयोग गर्ने भट्टराईले बताए ।

उनीहरुलाई काँचो सुनलाई बंग्याएर बाला आकारमा विदेशबाट पठाउने र विमानस्थलबाहिर संकलन गर्ने गिरोह सक्रिय रहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई सुन ल्याएवापत प्रति ५० ग्राम वापद तस्करहरुले ५ हजार दिने गरेको प्रहरीको भनाई छ ।