जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको सनाखत

जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको सनाखत

जाजरकोट । जाजरकोट बस दुर्घटनामा ज्यान गुमाएका पाँच जनाकै पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेहरुमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेपाली र सप्तरीका ४० बर्षीया गंगाराम यादव रहेका छन् । 

नेपालगञ्जबाट जाजरकोटका लागि शनिबार राती छुटेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा चालकसहित २८ जना घाइते भएका छन् । बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तीन जना गम्भिर घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको र अन्यको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।