प्रदीप यादवलाई जसपा केन्द्रीय सदस्यबाट हटाइयो

प्रदीप यादवलाई जसपा केन्द्रीय सदस्यबाट हटाइयो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निस्कासन गरेको छ ।शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको थियो । सो पुत्ला दहन यादवकै निर्देशनमा भएको भन्दै पार्टीले कारबाही गरेको हो ।

मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, रमेश यादवलगायत अधिकांश नेताले कारवाही नगर्न आग्रह गर्दा पनि अध्यक्ष यादवको जोडबलमा कारबाहीको निर्णय भएको हो । कार्यालय सचिव प्रकाश अधिकारीले पेस गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा यादव केन्द्रीय सदस्यबाट निस्कासनमा परेका हुन्। यादवले दिएको प्रस्टीकरण चित्त नबुझेपछि अध्यक्ष यादवले कारबाही गरेका हुन् ।

सांसद यादवलाई साधारण सदस्यबाट नै निस्कासन गर्ने प्रस्ताव गरे पनि अन्य नेताको बिरोधपछि केन्द्रीय सदस्यबाट मात्रै तत्कालका लागि निस्कासन गरिएको एक नेताले बताए ।

त्यसो त सांसद यादव यसअघि पनि कारबाहीमा परिसकेका हुन् । स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियायामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।