सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी, आज फूलकोर्ट बस्दै

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी, आज फूलकोर्ट बस्दै

काठमाडौं ।  सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी व्यवस्थापनका लागि न्यायाधीशहरु सहमत भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट रहेका न्यायाधीशबीच बुधबार भएको परामर्श अनुसार बिहीबारको बैठकले गोलाबाट पेसी तोक्नेबारे निर्णय गर्नेछ। मंसिर १५ बाट गोला प्रणालीदेखि पेसी तोक्ने विषयमा न्यायाधीशहरु भने एकमत छन्। 

सर्वोच्च अदालतको हालै संशोधित नियमावली अनुसार पूर्ण बैठक (फूलकोर्ट) बाट निर्णय भएपछि गोला प्रणालीबाट पेसी व्यवस्थापन हुने उल्लेख छ। पूर्ण बैठकको निर्णयलाई राजपत्रमा प्रकाशन गरेपछि उक्त निर्णय लागू हुनेछ। 

सर्वोच्चका एक न्यायाधीशले आज औपचारिक रुपमा निर्णय हुने बताए। उनले भने, ‘मोटामोटी रुपमा त हामीबीच मंसिर १५ बाट गोला प्रणालीमा जाने सहमति भयो। हामी आजै औपचारिक निर्णय गरेर प्रधानन्यायाधीशसमक्ष पठाउँछौँ। आवश्यक प्रक्रिया पूरा भएपछि लागू हुन्छ।’

यसअघि पनि नियमावली संशोधन र कार्यविधि निर्माण प्रधानन्यायाधीश बिनाकै बैठकले गरेको थियो। उक्त निर्णयलाई पछि प्रधानन्यायाधीशले हस्ताक्षर गरेपछि राजपत्रमा प्रकाशित भएको थियो। नियमावली राजपत्रमा प्रकाशित भएपछि गोलाबारे दोस्रो निर्णय भएको हो। 

मुद्दा महाशाखाको विवरण अनुसार अदालतमा अब प्रत्येक दिन सबै न्यायाधीश र मुख्य रजिस्टारको उपस्थितिमा बिहान १० बजे  गोलाबाट पेसी तोकिनेछ। मुद्दा व्यवस्थापनको गोपनीयताको मुख्य दायित्व मुख्य रजिस्टारमा हुनेछ।