जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले न्यायपालिकाको समस्या समाधानका लागि आपसी छलफलबाट निकास निकाल्न सकिने बताएका छन् ।
मंगलबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा अध्यक्ष नेपालले न्यायपालिकाभित्र देखिएको विवाद चाँडो भन्दा चाडो समाधान गर्नुपर्ने भन्दै छलफल र आपसी समझदारीबाट समाधान गर्न सकिने बताए । उनले न्यायालयको किचलोले न्याय क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने भएकाले पाँच दलीय गठबन्धनले न्यायपालिकाको समस्या समाधान गर्न साझा धारणा बनाउन लागेको समेत बताए ।
गठबन्धन सरकारमा पनि न्यायालयको समाधानका विषयमा कुराकानी भएको भन्दै चाँडै साझा धारणा सार्वजनिक गर्ने पनि बताए ।
उनले प्रधानमन्त्रीलाई न्यायालय विवाद समाधानका विषयमा पहल गर्न आग्रह गरिसकेको भन्दै यसको छिटो निराकरणका लागि आवश्यक पहल र वार्ता सम्वाद पनि भइरहेको बताए ।