मंसिर १७ देखि देशभरबाट मतदाता नामावली संकलन गरिने

मंसिर १७ देखि देशभरबाट मतदाता नामावली संकलन गरिने

काठमामाडौं ।  निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि देशैभर मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले विशेष अभियान बनाएर १० दिनसम्म पालिकाहरूको केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्न लागेको हो । 

अहिले ७७ वटै निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन र ४० वटा इलाका प्रशासन कार्यालयमार्फत मतदाता नामावलीका लागि नाम दर्ता तथा फोटो खिचाउने काम भइरहेको आयोगका प्रवक्ता शालिकग्राम शर्माले जानकारी दिए । अब १७ गतेदेखि भने केन्द्रमा टोली पठाएर नामावली सङ्कलन गर्नेछ । 

आयोगले हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाडौ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन मतदाता नामावली संकलन अभियान चलाउनेछ । 

अभियानका रुपमा थप ६३७ वटा स्थानीय तहको केन्द्रबाट पनि नाम संकलन गरिने शर्माले जानकारी दिए। मतदाता नामावली संकलन दुई चरणमा संकलन गर्ने कार्य तालिका आयोगले तयार पारेको छ। निर्वाचन आयोगले इलाका प्रशासन कार्यालय रहेका ६ सय ३७ पालिकामा टोली पठाउन लागेको प्रवक्ता  पौडेलले जानकारी दिए । 

यसैबीच आयोगले  १६ वर्ष उमेर पूरा भइ नेपाली नागरिकता प्राप्त गरेका सबैलाई नाम दर्ता गराउन आग्रह गरेको छ । मतदाता नामावलीमा १८ वर्ष पूरा भएपछि मात्र नाम समावेश हुने भएपनि आयोगले १६ बर्ष पुगेका सबैको नाम दर्ता गराउँदै आएको छ ।

यस्तै मङ्सिर १७ गतेदेखि आफ्नो नागरिकता भएको भन्दा अर्को जिल्लाबाट पनि नामावली सङ्कलन गर्न सकिने आयोगले जनाएको छ । २०७७ पौष ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई समावेश गरी आयोगबाट २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता थिए। अब अभियानबाट थप १० लाख मतदाता थपिने आयोगको अनुमान छ।