प्रधानन्यायाधीश राणाले तोके १० इजलास, नियमित सुनुवाइमा फर्किँदै न्यायाधीश

प्रधानन्यायाधीश राणाले तोके १० इजलास, नियमित सुनुवाइमा फर्किँदै न्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबारका लागि १० वटा इजलास तोकेका छन्। आजका लागि राणाले ९ वटा संयुक्त इजलास र १ एकल इजलास तोकेका हुन्। राणाले आफ्ना लागि कुनै इजलास राखेका छैनन्। 

राणाको राजीनामा माग गर्दै आन्दोलन छेडेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजदेखि नियमित इजलासमा फर्किने भएका छन्। आन्दोलन थालेको २४ दिनपछि नियमित मुद्दा हेर्ने गरी  उनीहरू इजलास फर्किने भएका हुन्।

राणाको राजीनामाको मागमा अडिग रहेका भनिएका न्यायाधीशहरू सर्वोच्चमा गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने प्रक्रिया सुरु हुने भएपछि इजलास फर्किन तयार भएका हुन्। प्रधानन्यायाधीश राणा बाहेकका १८ जना न्यायाधीशको उपस्थितिमा हिजो, बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाबाट मुद्दाको पेसी तोक्नेसम्बन्धी नियमावली र निर्देशिका स्वीकृत गरेको थियो। 

गोलाप्रथा प्रणाली लागू गर्नेसम्बन्धी निर्णयमा प्रधानन्यायाधीश राणाले हस्ताक्षर गरी राजपत्रमा सूचना प्रकाशित हुने भएपछि आफूहरू नियमित सुनुवाइमा फर्किन लागेको सर्वोच्च अदालतका एक न्यायाधीशले जानकारी दिए।