बारको आन्दोलनमा प्रहरीको बल प्रयोग गरेपछि सर्वोच्चमा तनाव, केही अधिवक्ताहरू घाइते

बारको आन्दोलनमा प्रहरीको बल प्रयोग गरेपछि सर्वोच्चमा तनाव, केही अधिवक्ताहरू घाइते

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले हातपात गरेपछि नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानुन व्यवसायीहरू घाइते भएका छन् ।

अधिवक्ताहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे लगायत घाइते भएका छन् । घाइते भएकामध्ये प्रकाश महर्जनलाई अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको छ । सर्वोच्च परिसरमा तनाव जारी छ ।

कानुन व्यवसायीहरूले सर्वोच्चको मूल गेटसँगै वैकल्पिक गेटमा पनि प्रधानन्यायाधीशको बाटो छेक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । मूल गेटमा बारले बाटो छेकेपछि जबरा वैकल्पिक गेटबाट सर्वोच्च छिर्ने गरेका थिए ।