एमसीसीबारे दवाव दिँदै अमेरिकी, सहायक विदेशमन्त्री डोनाल्डले आज प्रधानमन्त्री देउवालाई भेट्दै

एमसीसीबारे दवाव दिँदै अमेरिकी, सहायक विदेशमन्त्री डोनाल्डले आज प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने भएका छन्। नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु तीनदिने भ्रमणका क्रममा बुधवार साँझ काठमाडौं आइपुगेका हुन्।

दुईमहिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले बिहीबार अपराह्न प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले एमसीसीमा भैरहेको ढिलाईका बारेमा छलफल गर्ने बुझिएको छ । लुले शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा लेले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन्।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले एक विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको छ।

बिहीबार दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने तथा उनले नेपाली अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।