गोलाप्रथामा जाने अन्तिम तयारीमा सर्वोच्च, तत्काल फुलकोर्ट बोलाउने निर्णय

गोलाप्रथामा जाने अन्तिम तयारीमा सर्वोच्च, तत्काल फुलकोर्ट बोलाउने निर्णय

काठमाडाैं । सर्वोच्च अदालतका बहुमत न्यायाधीशले सर्वोच्चको पूर्ण बैठकको माग गरेका छन् । बुधबार सर्वोच्च अदालतका चौध न्यायाधीशको बैठकबाट तत्काल फुलकोर्ट बोलाउने निर्णय भएसँगै मुख्य रजिस्ट्रारलाई सो को जानकारी गराइएको छ । 

न्यायपालिका सुधारको माग गर्दै तीन साताभन्दा लामो समयदेखि इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरूले तत्काल सर्वोच्चको पूर्ण बैठक बोलाएर सर्वोच्च अदालत नियमावली संशोधन गरी गोलाप्रथामा जानुपर्ने निष्कर्ष निकालेका हुन् । लामो समय जनताका मुद्दा नहेरी आन्दोलनमा जाँदा त्यसले नकारात्मक सन्देश जाने भन्दै नियमावली संशोधन गरी गोलाप्रथामा जाने प्रयोजनका लागि फुलकोर्ट बोलाउन लगाइएको हो । बैठक बोलाउन प्रधानन्यायाधीशसमेत सकारात्मक रहेको बताइएको छ । 

यसअघि गत आइतबारसम्म सर्वोच्च १९ जना न्यायाधीश नै एक ठाउँमा उभिएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायालय शुद्धीकरणमा एकाकार भएको सन्देश दिएका थिए । तर सोमबारदेखि पाँचजना न्यायाधीशले लामो समय जनताको मुद्दा नहेरी बस्न नहुने भन्दै असन्तुष्ट न्यायाधीशको समूहबाट विद्रोह गरेका थिए । 

यद्यपि उनीहरूको माग पनि तत्काल फुलकोर्ट बसेर नियमावली संशोधन गरी गोलाप्रथाबाट पेसी तोकिनुपर्ने माग थियो । फुलकोर्ट वैठकमा सहभागी हुने र गोलाप्रथाबाट पेसी तोक्ने सम्बन्धमा आफूहरूको पूर्ण साथ र समर्थन रहेको सन्देश पनि उनीहरूले दिइसकेका छन् ।

​बुधबारको छलफलमा सहभागी एक न्यायाधीशका अनुसार पेसी व्यवस्थापनमा नै सबैभन्दा बढी चलखेल हुने गरेको भन्दै न्यायपालिका सुधारका लागि सबैभन्दा पहिले गोलाप्रथाबाट पेसी तोकिनुपर्ने निष्कर्ष निकालिएको छ । त्यसका लागि नियमावली संशोधन गर्नुपर्ने भएकाले नियमावलीमा के के कुरा संशोधन गर्ने भनी चौध न्यायाधीशबीच सहमति बनिसकेको छ ।