युवाहरूबीचकाे ग्याङ फाइटमा एकको मृत्यु

युवाहरूबीचकाे ग्याङ फाइटमा एकको मृत्यु

मोरङ । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा युवाहरूबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति दुई पक्षबीच भएको झगडामा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । 

२६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएका थिए । बढीगंगा ६ का साथी नानु लिम्बूको घरमा जन्मदिनको आयोजना गरिएको सामान्य जमघटमा सहभागी हुन आइतबार त्यहाँ पुगेका रिजन फर्केनन् ।

साथीको छोरीको बर्थडेको पार्टीमा आएर मदिरा सेवन गरेका बुढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङलगायत केही युवाहरुसँग रिजनको विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि उनीहरुले रिजनलाई बुढीगंगा ६ डम्बर बाहदुर लिम्बुको बारीमा लगेर आक्रमण गरेका थिए । खुकुरीसहित धारिलो हात–हतियारले रिजनमाथि प्रहार गरेको प्रहरीले जनाएको छ । टाउकोमा गम्भिर चोट लागेका रिजलाई उपचारका लागि अस्पताल लैजाँदै गर्द बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

हाल रिजनको शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ । छ सात जनाको समूहले रिजनमाथि आक्रमण गरेका थिए । घटना छुट्याउन गएका नानु लिम्बु र कमल थापा पनि घाइते भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले दुई युवालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।