सत्ता गठबन्धन एमालेविरुद्धको आवेग मात्रै हो, आयू लामाे छैन : योगेश भट्टराई

सत्ता गठबन्धन एमालेविरुद्धको आवेग मात्रै हो, आयू लामाे छैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले सत्तारुढ गठबन्धन कागती र नास्पातीको कलमी जस्तै भएको भन्दै यसको आयू खासै लामो नहुने तर्क गरेका छन् । 

मंगलबार नेपाल पत्रकार महासंघ ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले सत्ता गठबन्धन एमाले विरुद्धको आवेग भएको उल्लेख गरे । उनले भने, ‘कागती र नास्पानीको कलमी कस्तो होला, अहिलेको सत्ता गठबन्धन त्यस्तै हो । यसको आयू लामो छैन ।’

नेता भट्टराईले माधव कुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीतिर लक्षित गरी कम्युनिस्ट पार्टीको नाममा साना–तिना नाङ्लो पसल खोलेर समाजमा प्रभावकारी हस्तक्षेप हुन नसक्ने बताए ।

उनले भने, ‘बुढो मान्छेले पसल खोलेर बस्यो भने सामान सकिएपछि थप समान ल्याउने छैन, सामान सकिएको हुन्छ तर पसलेले पसल खोलिरहेको हुन्छ ।’ उनले थपे, ‘नेकपा एमालेका अगुवाईमा फेरि पनि नेपाली कम्यूनिष्ट आन्दोलनलाई एकतावद्व बनाउने दायित्व हामीसँग छ।’

पार्टीलाई अन्तरविरोध र टुटफुटबाट केही क्षति पुगेको भन्दै नेता भट्टराईले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नको लागि मिसन नै बनाएर अघि बढ्ने धारणा व्यक्त गरे ।

हाल जारी सर्वाेच्च अदालतको विवाद समाधानका लागि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएर  निकास निस्काल्नुपर्ने धारणा व्यक्त गरे ।