कैलाली युवक हत्या : दिनभर प्रदर्शन, आठ जना पक्राउपछि सार्वजनिक

कैलाली युवक हत्या : दिनभर प्रदर्शन, आठ जना पक्राउपछि सार्वजनिक

कैलाली । लम्की चुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको खुकुरी प्रहारबाट मंगलबार राति हत्या भएपछि मृतकका आफन्तले बुधबार बिहानैदेखि प्रदर्शन गरे । प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग विहानैदेखि अवरुद्ध बन्यो । उग्र बनेको प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले चार राउण्ड अश्रुग्यास पनि प्रहार गरेको थियो । 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ उनीहरुलाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । अझै केही फरार रहेको भन्दै उनीहरुको खोजी कार्य भइरहेको उनले बताए । 

अभियुक्तलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने भनेपछि दिनभरसम्म शव टीकापुर अस्पतालमा रह्यो । दोषीलाई कारवाही कानुनी दायरामा ल्याई कारवाही गर्ने सहमति भएपछि बुधबार साँझ परिवारले शव बुझेका थिए ।