मोतीपुर घटनाका मृतकका परिवारलाई सरकारले ५/५ लाख दिने

मोतीपुर घटनाका मृतकका परिवारलाई सरकारले ५/५ लाख दिने

रुपन्देही । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले जनही पाँच लाख दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

यसअघि पनि सरकारले मृतकका परिवारलाई किरिया खर्च स्वरुप ५० हजार दिइसकेको छ । हिजो बसेको बैठकले पाँच लाख थप रकम दिने निर्णय गरेको हो । 
यस्तै सो घटनाका मृतकका परिवारलाई लुम्बिनी प्रदेश सरकारले पछि एक लाख दिने निर्णय गरेको थियो ।

गत असोजमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागी चार जनाको ज्यान गएको थियो । बुटवल उपमहानगरपालिका वार्ड १७ र १८ पर्ने मोतीपुर क्षेत्रमा प्रशासनले अतिक्रमण जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा झडप भएको थियो । झडपमा ४० भन्दा बढी घाइते भएका थिए । 

प्रहरीले  मोतीपुर घटनाका मुख्य अभियुक्त भन्दै साविर अलि मुसलमानलाई पक्राउ गरिसकेको छ ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका मुसलमान रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा डेरामा बस्दै आएका थिए । मोतीपुर घटना र औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमणमा उनको प्रत्यक्ष संलग्नता रहेको आरोप छ ।