एक करोड कोभिड खोप खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय

एक करोड कोभिड खोप खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले १२ वर्षदेखि माथिका व्यक्तिलाई समेत  लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए। उनले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए।

स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए । सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ । मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिकालाई लगाउन सकिन्छ । कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ । 

कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । यो फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । सरकारले आउँदो चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ ।