बाँकेका दुई महिला हत्या र बेपत्ता प्रकरणमा सात जना पक्राउ

बाँकेका दुई महिला हत्या र बेपत्ता प्रकरणमा सात जना पक्राउ

बाँके । बाँकेका नकुन्नी धोबी मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, विरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह रहेको प्रहरी उपरीक्षक श्याम अधिकारीले जानकारी दिए ।

उनीहरुलाई सोमबार जिल्ला अदालत बाँकेबाट जारी भएको पुर्जी दिएर पक्राउ गरिएको थियो । उनीहरु आफै नै प्रहरी समक्ष आत्मसमर्पण गर्न आईपुगेको प्रहरीले जनाएको छ । बबनलाई अदालतले ८० वर्ष उमेरको कारण छाडिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

स्थानीय नन्कुन्नी धोबीको शंकास्पद मृत्यु र निर्मला कुर्मी बेपत्ता भएको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान नगरेको भन्दै स्थानीय अधिकारकर्मी र पीडित परिवारका सदस्य काठमाडौं आएर धर्नामा बसेका थिए ।

अधिकारकर्मी र पीडित परिवारका सदस्यहरू नेपालगञ्जबाट २० दिन पैदल हिँडेर न्यायको माग गर्दै काठमाडौं आएर धर्नामा बसेका थिए ।