सामूहिक बलात्कार गरी फरार भएका तीन अरोपित २० दिनपछि पक्राउ

सामूहिक बलात्कार गरी फरार भएका तीन अरोपित २० दिनपछि पक्राउ

बेनी । म्याग्दीको बेनी–५ पुलाचौरमा एक महिलामाथि सामूहिक बलात्कार गरी फरार भएका तीन आरोपितलाई प्रहरीले २० दिनपछि पक्राउ गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । 

घटनाका आरोपित पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानिँयालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको हो । 
गत कात्तिक २ गते घरमै सुतिरहेकी एक महिलालाई उनीहरुले बलात्कार गरी फरार भएका थिए ।

२२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई सोमबार पोखराबाट पक्राउ गरी सार्वजनिक गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । कात्तिक ४ गते पिडीतले जाहेरी दिएपछि आरोपीको खोजी र अनुसन्धान शुरु गरिएको थियो ।

आरोपितहरुलाई जिल्ला अदालत म्याग्दीबाट सामूहिक बलात्कार सम्बन्धी मुद्दा दर्ता र सात दिनको म्याद थप थरी अनुसन्धानका लागि हिरासतमा राखिएको उपरीक्षक राईले बताए । 

आरोपितका अभिभावक तथा आफन्तहरुले भने सहमतिमा भएको सम्बन्धलाई राजनीतिकरण र विषयान्तर गरेर फसाउन खोजिएको दावी गरेका छन् । प्रवेश र प्रकाश सहोदर दाजु भाई हुन् । प्रवेश भारतमा कक्षा १२ अध्ययन गर्छन् । रुपन्देहीमा बस्दै आएका प्रकाश त्यहाँ सुनचाँदी पसलमा काम गर्छन् । 

हिट्मेन भने पुलाचौरकै स्थायी बासिन्दा हुन् । प्रवेश र प्रकाश दशैं मनाउनका लागि अभिभावकसँग पुर्ख्यौली घर आएका प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।