काठमाडौ । सत्तासाझेदार पाँच दलीय गठबन्धनको बैठक आज साँझ बस्दैछ र प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बुझिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई प्रभावकारी बनाउन संयन्त्र गठन गर्नुपर्ने बताउँदै आएका बेला आज बोलाएको बैठकमा सत्ता गठबन्धनमा सम्मिलित पाँच वटै दलका नेताहरु सम्मिलित संयन्त्र बनाउने विषयमा छलफल हुनसक्ने अनुमान गरिएको छ ।
सत्ता गठबन्धनमा पाँच दल भएपनि चार दल सरकारमा सहभागी छन् भने अर्का एक दल राष्ट्रिय जनमोर्चा भने सरकारबाहिर रहेर सरकारलाई सहयोग गरिरहेको छ । हाल गठबन्धन सरकारमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा सम्मिलित छन् ।