काठमाडौं । एमाले नेता महेश बस्नेतले राप्रपा नेता विक्रम पाण्डे एमाले प्रवेश गर्नेबारे कुराकानी भइरहेको दावी गरेका छन् । विक्रम पाण्डेसँग निरन्तर पार्टी प्रवेशबारे छलफल भइरहेको उनको दावी छ।
बस्नेतले प्रचण्डलाई चितवनमा चुनाव जित्न गाह्रो रहेको दाबी गरे । ‘निर्वाचन क्षेत्रमा त उहाँ चौथो हो नि, एमाले, काँग्रेस, राप्रपा र त्यस पछाडि माओवादी केन्द्र हो’, उनले भने, ‘विक्रम पाण्डे त कम पपुलर हुनुहुन्छ र ?’
उनले थपे, ‘विक्रम पाण्डे एमालेमा आउने स्थिति बन्यो भने त प्रचण्ड समानुपातिकतर्फ गइहाल्नुहुन्छ । कि वर्षमान पुनलाई हटाएर रोल्पामा उठ्नुपर्यो कि जनार्दनलाई हटाएर रुकुममा उठ्नुपर्यो । अरु सुरक्षित सिट कहीँ होलाजस्तो मलाई लाग्दैन ।’
व्यवसायी समेत रहेका पाण्डे यसअघिको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए । अहिले चुनाव लड्नकै लागि उनी एमाले प्रवेश गरेर आफूलाई थप अब्बल बनाउने दौडमा रहेको बताइएको छ । यो विषयले माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्ड तनाबमा परेका छन् ।