२० वर्ष जेल सजाय तोकिएका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

२० वर्ष जेल सजाय तोकिएका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना जेल सजाय तोकिएका एक फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । 

साविक जलुके गाविस–४ हाल सितगंगा नगरपालिका–७ का खिमबहादुर पुलामीलाई फरार भएको २२ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

पलामीसहित चार जनाको टोलीले गाउँमा सांघातीक आक्रमण गरी स्थानीय भीमबहादुर क्षेत्रीको निर्मम हत्या गरेका थिए । घटनामा संलग्न चारै जनालाई जिल्ला अदालत अर्घाखाँचीले २०५६ साल असार १८ गते कर्तब्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना १० दिन कैद सजायको फैसला गरेको थियो । 
हत्यामा संलग्नमध्ये दुई जनाको मृत्यु भइसकेको छ । हालसम्म फरार पुलामीलाई प्रहरीले कार्तिक १६ गते विशेष सूचनाको आधारमा पक्राउ गरेको जनाएकाृ छ । पुलामीलाई अदालतमा पेस गरी कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको छ ।