चुनावमा कांग्रेस एक्लैले एमालेलाई हराउँछ : गगन थापा

चुनावमा कांग्रेस एक्लैले एमालेलाई हराउँछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले विगतमा पनि नेपाली कांग्रेसले एक्लै लडेर ठूलो पार्टी हुन सफल भएको भन्दै आगामी निर्वाचनमा पनि एक्लै लड्ने बताएका छन् । उनले कांग्रेसले एक्लै लडेर पनि नेकपा एमालेलाई हराउने दावी गरे । 

नेपाली कांग्रेस गुण्डुले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता थापाले भने, “कांग्रेस पहिला पनि एक्लै चुनाव  लडेको थियो, ठूलो पार्टी भएकै हो । अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ”, उनले थपे, “आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ ।” 

उनले नेकपा एमालेले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको भन्दै वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताएका हुन् ।

उनले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा पनि उपनिर्वाचनको लागि सरकारले तयारी गरेको जानकारी दिए ।

नेता थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेट गरी सरकारका राम्रा र नराम्रा कामबारे जानकारी लिएको भन्दै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको समेत जानकारी दिए ।