ओलीको पानीजहाज चढ्न नपाएकाहरुलाई बालुवाटारमा हेलिकोप्टर चढ्न अध्यक्ष नेपालको सुझाव

ओलीको पानीजहाज चढ्न नपाएकाहरुलाई बालुवाटारमा हेलिकोप्टर चढ्न अध्यक्ष नेपालको सुझाव

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पानी जहाज ल्याउने भन्दै टिकट काट्न उर्दी गरेकाे मिति सकिएकाले ओलीसँग टिकटको पैसा फिर्ता माग्न भनेका छन् । 

गृह जिल्ला रौतहट पुगेका अध्यक्ष नेपालले चन्द्रनिगाहापुरमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले सरकारमा हुँदा मनपर्दी बोल्दै हिँडेकोप्रति टिप्पणी गरे । उनले भने, ‘घर घरमा ग्यासको चूल्हो देख्नु भएकै होला, पानी जहाज त आई नै सक्यो, टिकट काट्नु भयो कि भएन ?’ ओलीतिर कटाक्ष गरे । 

ओलीले सत्तामा रहुन्जेल मनलाग्दी खर्च गरेको भन्दै पानी जहाज चढ्न नपाएकाहरुलाई बालुवाटरमा ओलीले बनाएको हेलिप्याड भएको भन्दै त्यही गएर हेलिकोप्टर चढ्न भने । बालुवाटारमा हेलिप्याडा भएको र राष्ट्रपति निवासमा पनि बनाउने तयारी भएकोमा टिप्पणी गरे । उनले भने, ‘यस्तो तमाशा हुन्छ ? ओलीको गृहजिल्ला झापामा त्यो अर्बौको टावर के गर्ने ? त्यो टावरमा चढेर धानको बाला हेर्ने हो ?’

नेता नेपालले केपी ओलीलाई गफाडीको संज्ञा दिँदै एकैदिन १६५ बढी अस्पतालको शिलान्यास गरेर तमाशा देखाएको उल्लेख गरे । उनले ओली देशकै लागि अभिशाप भएको आरोप लगाए ।

मुलुकमा अहिले आएको परिस्थितको जिम्मेवार पनि ओली नै रहेको अध्यक्ष नेपालको दावी छ । न्यायालयको विषयमा भने प्रधानमन्त्री स्वदेश आएप्छि गठबन्धन सरकारले छलफल गरेर निर्णय गर्ने बताए ।