कर्णाली प्रदेश मुख्यमन्त्री : शाही बिदा भए, अर्का शाहीका लागि ढाेका खुल्याे

कर्णाली प्रदेश मुख्यमन्त्री : शाही बिदा भए, अर्का शाहीका लागि ढाेका खुल्याे

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सत्ता गठबन्धन दलसँग ६ महिनाअघि भएको सम्झौता अनुसार इमान्दार भएर राजीनामा दिएको बताएका छन् । 

महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा पर्दा कांग्रेसले उनलाई सघाएको थियो । त्यसबेला माओवादीले कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेको थियो ।

शाहीले ३ वर्ष ८ महिना प्रदेश सरकारको नेतृत्व गरेका छन् । उनले नयाँ सरकार गठनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने पनि शाहीले बताएका छन् । नयाँ बन्ने सरकारलाई आफ्नो दलको पूर्ण सहयोग रहने उनको भनाइ छ ।

सोही बमोजिम आज मुख्यमन्त्री शाहीले राजीनामा दिएसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने ढोका खुलेको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने करिव निश्चित नै भएको छ । 

कर्णाली प्रदेशमा ४० जना सांसद छन् । एमालेका चार सांसद कारवाहीमा परेपछि उनीहरुको पद रिक्त छ भने माओवादीका एक सांसद एमालेमा गएपछि सो पद पनि रिक्त छ । त्यसैले हाल कायम संख्या ३५ हो । बहुमतका लागि १८ मत चाहिन्छ ।

माओवादीसँग १२, कांग्रेससँग ६ सिट छ । एमालेसँग एक्लै १६ सिट छ । तर, एमाले विभाजन भएका कारण तेस्रो ठूलो दल कांग्रेसले सरकार चलाउने भएको छ ।