परिवर्तनलाई उल्टाउन विभिन्न शक्ति लागेः प्रचण्ड

परिवर्तनलाई उल्टाउन विभिन्न शक्ति लागेः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा भएको परिवर्तनलाई उल्ट्याउन विभिन्न शक्ति लागि परेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले सोमबार आयोजना एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको सरकार र पार्टीभित्रकै व्यक्तिबाट परिवर्तनलाई प्रहार गर्ने काम भएको बताए । उनले भने, ‘कम्युनिष्टकै सरकार भएपनि अघिल्लो सरकारले संविधानको सकारात्मक विषय र सङ्घीयतामाथि प्रहार गर्ने, संसद्का समितिले पठाएको विधेयक अगाडि नबढाउनेलगायत काम गर्‍ यो ।’

विगतमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाप्रति नकारात्मक धारणा राख्नेहरू पनि मुलुक परिवर्तनसँगै सुध्रिएलान भन्ने अपेक्षा गरेपनि उनीहरु सुध्रिनुको सट्टा बरु परिवर्तनलाई नै उल्टाउने खेल खेलेको आरोप लगाए । त्यस्ता शक्तिहरु अझै पनि सलबलाईरहेकाले परिवर्तनका लागि लडेकाहरु अझै ढुक्क भएर बस्ने स्थिती नरहेको उल्लेख गरे । 

प्रचण्डले यसअघिका सरकारले रोकेका सबै विधेयकहरु गठबन्धन सरकारले अगाडि बढाउने तयारी गरेको बताए । उनले निजामती ऐन, प्रहरी समायोजन ऐन, कर्मचारी सरुवा, बढुवा, समायोजनालगायत ऐन सरकारले छिटोभन्दा छिटो अगाडि बढाउने चाहेको बताए । 

अध्यक्ष प्रचण्डले खर्च कम गर्न र धांधली रोक्न तीन तहको निर्वाचनलाई एकैचोटी गर्न सकिने पनि बताए । उनले आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको भन्दै सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनका लागि राज्यलाई कम भार पार्ने, जनतालाई कम दुःख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेशअनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गरे षडयन्त्र हुन नपाउने भन्दै तथा आर्थिक बोझ कम हुने र राजनीतिक दललाई सजिलो हुने भन्ने विचार आएको स्पष्ट पारेका छन् ।