काठमाडौं । प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले आज राजीनाको घोषणा गरेसँगै नेकपा (एमाले)ले सबै प्रदेश सरकार गुमाएको छ ।
यसअघि ७ वटा प्रदेशमा ४ वटासम्म सरकारको नेतृत्व गर्न सफल रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको हठकै कारण आज एउटा पनि सरकारको नेतृत्व गर्न नसक्ने भएको छ । अध्यक्ष ओलीले आन्तरिक कलहलाई मिलाउन नसक्दा नेकपा एमालेमा यो समस्या आईलागेको जानकारहरु बताउँँछन् ।
नेकपा एमालेको कलहलाई सतहमा पुग्दा समेत पनि खनाल नेपाल पक्षलाई वेवास्ता गर्दै आफूखुशी अगाडि बढेका थिए । अन्ततः नेपालले एमाले विभाजन भएर एकीकृत समाजवादी गठन गर्न पुगे ।
खनाल नेपाललाई साथ दिइरहेका केही नेतृत्वहरु अन्तिम अवस्थामा आएर उनीहरुको साथ छोडेर संस्थापन पक्षमै बसेका थिए । केही मुख्यमन्त्री समेत भइसकेका थिए ।
अध्यक्ष ओलीले १० बुँदे सम्झौता हुन्छ भन्ने आश्वासनका भरमा खनाल नेपालको साथ छोडेर संस्थापन पक्षमै बसेकामध्ये अष्ठलक्ष्मी शाक्य र भीम आचार्य मुख्यमन्त्री समेत बन्न पाएका थिए ।
तर बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले ७१ दिन सरकारको नेतृत्व गरिन भने प्रदेश १ मा आचार्यले ६९ दिन सरकारको नेतृत्व गरेपछि अन्ततः उनीहरु पदबाट बाहिरिएका छन् । आचार्य सरकारबाट बाहिरिएसँगै प्रमुख प्रतिपक्षी एमालेले सबै प्रदेश सरकार गुमाएको छ ।
प्रदेश १ मा एमाले एकल बहुमतमा रहे पनि पार्टी विभाजित हुँदा आचार्यले छोटो समयमै सरकार छाड्नु परेको छ । यसअघि गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र वागमतीमा अष्टलक्ष्मी शाक्यले सरकारबाट बाहिरिनु परेको छ ।
संघीय सरकारको समेत नेतृत्व गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २८ असारमा सर्वोच्चको परमादेशबाट सरकार छोड्नु परेको थियो ।