काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । आज दिउँसो प्रदेश संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजिनामा दिएका हुन् ।
खनाल–नेपाल समूहका आचार्य तत्कालिन अवस्थामा एमाले विभाजन भएर जाँदा उनीहरूलाइ सान नदिएर मुख्यमन्त्री पद रोजेका आचार्यले ६९ दिन सरकारको नेतृत्व गरेपछि पदबाट आज राजीनामा दिएका हुन् ।
नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो । तर उनले विश्वासको मत नपाउने स्पष्ट भएपछि पदबाट राजीनामा दिएका छन् ।
९२ सदस्यीय रहेको प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन् ।
एमाले विभाजन भएपछि प्रदेश १ मा सम्भावित विभाजनलाई रोक्न तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर मुख्यमन्त्री पदमा भदौ १० मा आचार्य एमालेबाट एकल बहुमतको मुख्यमन्त्री बनेका थिए ।
आज उनले विश्वासको मत लिने कार्यक्रम रहेकोमा विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै राजीनामा दिएका छन् । उनले सरकारमा ६९ दिन नेतृत्व गरेर मार्गप्रशस्त गरेका छन् ।