काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले १० बुँदे सहमति गर्दा दुईजना अध्यक्ष राख्ने सहमतिसमेत भएको दाबी गरेका छन् । तर, सहमतिको लिखित मस्यौदामा भने त्यसबारे केही उल्लेख गरिएको थिएन ।
१० बुँदेको कार्यान्वयन गर्न बनेको कार्यदल संयोजकबाट आइतबार लिखित राजीनामा दिँदै रावलले माधवकुमार नेपाललाई एमालेको अर्को अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् ।
रावलले पत्रमा हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयन नभएको उल्लेख गरेका छन् । ‘हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा अपानी(१२ को कार्यान्वयन भएको छैन्,’ उनको भनाइ छ, ‘एक नम्बर प्रदेशका ताप्जेजुङ, सुनसरी, दुई नम्बर प्रदेशका सर्लाही र बारा, वागमती प्रदेशका चितवन तथा काठमाडौं महानगरपालिका अन्तर्गत कीर्तिपुर नगर कमिटी लगायतका स्थान, नेपाल उत्पीडित जातीय मुक्ति समाज लगायतका जनसंगठनहरूमा अपानी(१२ को कार्यान्वयनमा समस्या उत्पन्न भएको भनी कहींबाट मौखिक र कहीँबाट लिखित गुनासा प्राप्त भएका छन् ।’
१० बुँदे सहमति कार्यान्वयनमा पार्टी अध्यक्षबाट नै अनिच्छा व्यक्त भएपछि कार्यदलमा रहिरहनुको औचित्य नदेखिने भएकाले कार्यदलबाट राजीनामा दिएको उनको भनाइ छ ।