एमसीसी अनुमोदन नगरी संसद् अधिवेशन अन्त्य गरिएपछि अमेरिकाले जनायो असन्तुष्टि

एमसीसी अनुमोदन नगरी संसद् अधिवेशन अन्त्य गरिएपछि अमेरिकाले जनायो असन्तुष्टि

काठमाडाैं । नेपालको संसदबाट मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदन गर्न ढिलाइ भइररहेको भन्दै एमसीसी मुख्यालयले असन्तुष्टि जनाएको छ। संसदबाट सम्झौता पारितमा भइरहेको ढिलाइले नेपाली जनताका लागि अति महत्त्वपूर्ण ऊर्जा र सुरक्षित सडक निर्माण गर्न अमेरिकाले उपलब्ध गराउन लागेको ५०० मिलियन डलर अनुदान सहयोग जोखिममा परेको विज्ञप्तिमा उल्लेख छ। 

वासिङ्टनस्थित एमसीसी मुख्यालयले हालै विज्ञप्ति जारी गरी एमसीसी सम्झौता अनुमोदन नगरी संसद् अन्त्य गरिएकोप्रति चासो व्यक्त गरेको हो। 

एमसीसीका वरिष्ठ अधिकारीले सेप्टेम्बरमा नेपाल भ्रमण गरी एमसीसी कम्प्याक्टमाथि उठेका विषयमा आफ्ना धारणा स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपाल सरकारबाट एमसीसी अघि बढाउने विषयमा भ्रमणमा प्रतिबद्धता व्यक्त भएको विज्ञप्तिमा जनाइएको छ। तर सम्झौता अघि बढाउने वा नबढाउने भन्ने निर्णय नेपालमा निर्भर रहेको बताइएको छ। 

साझा स्वार्थ, प्रजातान्त्रिक मूल्य र पारस्परिक विश्वासअनुरूप ७० वर्षयता अमेरिका र नेपालबीच सहकार्य अघि बढिरहेको स्मरण गराउँदै सन् २०१५ को भूकम्पदेखि अहिलेको कोरोना महामारीसम्म अमेरिकाले नेपाली जनतालाई सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।