धुनषा । सिके राउतका कार्यकर्ताले तराईमा विभिन्न हर्कत गरी पटक पटक चर्चा आउने गरेका छन् । केही समयअघि मात्रै ढल तथा नाला निर्माणमा अनियमितता भएको भन्दै खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई सिके राउतका कार्यकर्ताहरुले दुर्व्यवहार गर्दै कपडा च्यातेर अर्धनग्न बनाई बजार परिक्रमा गराए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५० जना भन्दा बढीलाई पक्राउ गरेको थियो । उक्त घटनाको चौतर्फी विरोध पनि भयो । घटना भएको दुई हप्ता पनि वित्न नपाउँदै सिके राउतका कार्यकर्ताले पुनः अर्काे हर्कत गरेका छन् ।
जनमतका कार्यकर्ताले धनुषाको फकिर चन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई जनकारवाही भन्दै कालोमोसो दलेका हुन् । सिके राउत नेतृत्वको विद्यार्थी संगठनले सो विद्यालयमा विगत चार दिनदेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आएका थिए । आन्दोलनकैबीच मोटरसाइकलमा गएरहेका बेला प्रधानाध्यापक साहमाथि कालोमोसो दलेका हुन् ।
कार्यकर्ताहरूले नियमित पठन–पाठन हुनुपर्ने र शिक्षकको व्यवस्थापन हुनुपर्ने, शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरूले पुस्तक पाउनुपर्ने, विद्यालयका नाममा आएका सामग्रीहरू विद्यालयमा राख्नुपर्ने, विद्यालय सुधारका लागि सरोकारवालाहरूको वृहत भेला गरी अन्य विषयहरूमा निर्णय लिनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए ।