निरन्तर घट्दै तापक्रम, देशभर चिसो बढ्यो

निरन्तर घट्दै तापक्रम, देशभर चिसो बढ्यो

काठमाडौं । केही दिन यता तापक्रम घट्न थालेको महसूस हुन थालेको छ । बिहान र बेलुका चिसो हुन गरेको छ । तापक्रम निरन्तर घटन थालेपछि चिसो बढ्न थालेको छ ।  मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो । बुधबार बिहान १३.५ डिग्री सेल्सियस थियो भने बिहीबार बिहान १२.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज उक्त तापक्रम घटेर १२.४ डिग्री सेल्सियसमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

अब रातको समयमा आकाश खुला हुने र सित पर्ने हुँदा चिसो बढ्दै जाने मौसमविद् प्रतिभा मान्धर बताउँछिन् । हिमपात सुरु भएसँगै तापक्रम घट्ने क्रम सुरु हुने उनको भनाइ छ । उच्च पहाड र हिमालमा हिमपात हुन सुरु भइसकेको छ ।  

मनसुन सकिएपछि पश्चिमी बायु सक्रिय हुने र उत्तरबाट हावा आउने भएकाले चिसो अनुभव हुने उनी बताउँछिन् । “सूर्य दक्षिणायण हुन सुरु भएकाले अब तापक्रम घट्दै जान्छ । अक्टोबर र नोभेम्बर जाडो र गर्मीको ट्रान्जिसन फेज हो,” मौसमविद् मानन्धर भन्छिन्, “नोभेम्बरको मध्यबाट भने जाडो हुन्छ । डिसेम्बरबाट निकै धेरै चिसो हुन्छ ।” 

नेपाली क्यालेन्डरमा डिसेम्बर र जनवरी सवैभन्दा चिसो महिना हुन् ।  यसैबीच, आज देशका केही भागमा सामान्य वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका  एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।