प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत भ्रमणमा जाँदै छन्। राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धि (कोप–२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवासहित नेपाली प्रतिनिधिमण्डलको भ्रमण तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार अक्टोबर ३० मा प्रधानमन्त्री देउवा सर्वदलीय संसदीय समूह र नेपाल–बेलायत व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

यसैगरी, अक्टोबर ३१ मा देउवाले बेलायत–नेपाल समाज, गैरआवासीय नेपाली संघ र नेपाली समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सोही दिन बेलायतका लागि नेपाली कार्यवाहक राजदूतले लण्डनमा आयोजना गरेको रिसेप्सनमा भाग लिने कार्यतालिका रहेको छ।

सो अवसरमा देउवाले नेपाली डायस्पोरा र बेलायती संसदका ब्रिटिस–गोर्खा संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्ने जनाएको छ। यसैगरी, नोभेम्बर १ मा प्रधानमन्त्री देउवाले कोप–२६ सम्मेलनमा सहभागी हुनेछन्। उक्त सम्मेलनमा प्रधानमन्त्रीले नेपाली मुद्दासहित सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ।

त्यस्तै, नोभेम्बर २ को बिहान प्रधानमन्त्री देउवा बेलायी प्रधानमन्त्री बोरिस जोन्सन र सांसदहरुले सरकार प्रमुखहरुको सम्मेलनमा आयोजना गर्ने ब्रेकफास्टमा सहभागी हुने जनाइएको छ। सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री देउवाले विभिन्न मुलुकका सरकार प्रमुखसँग भेटवार्तासमेत  गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नोभेम्बर ३ मा प्रधानमन्त्री देउवा एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गर्नेद्धन् । त्यस अवसरमा देउवाले नेपाली बगैंचामा वृक्षरोपण गर्ने कार्यक्रम छ।

नोभेम्बर ४ मा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रसंघघीय जलवायु सम्मेलन संरचना महासन्धि सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डको ग्लास्गोमा आयोजना हुँदैछ।