काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे नियुक्त हुने भएका छन्। नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन्।
प्रदेश प्रमुखले नयाँ सरकार गठका लागि आह्वान गरे लगतै बुधबार ५९ सांसदको समर्थनसहित पाण्डेले दाबी पेस गरेका थिए। बागमती प्रदेशमा मुख्यमन्त्री बन्नका लागि ५५ मत आवश्यक पर्छ। नेकपा एकीकृत समाजवादी, कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थन पाएका उनले आजै शपथ लिने कार्यक्रम छ।
आज दिउँसो सवा तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका अधिकारीहरूले बताएका छन्। यस्तै आजै पाण्डेले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने छन्।
नेपाली कांग्रेस संसदीय दलका सचेतक निमा लामाका अनुसार आजै कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने भएका छन्।