नाटकीय रूपमा भारत पुगे सर्वोच्चका दुई न्यायाधीश

नाटकीय रूपमा भारत पुगे सर्वोच्चका दुई न्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतमा संकट देखिएका बेला सर्वोच्च अदालतकै दुई जना न्यायाधीश नाटकीय रूपमा भारत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा विवाद चर्किएको बेला उनीहरू भारत लागेका हुन् ।

बुधबार बिहान सेनाको हेलिकप्टरमा नेपालगञ्ज पुगेका न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिल कुमार सिन्हा भारत पुगेका छन् । जिल्ला भ्रमणका लागि भन्दै नेपालगञ्ज पुगेका उनीहरू बिहानै भारततर्फ लागेका थिए ।

सर्वोच्चमा विवाद देखिएका बेला उनीहरू नाटकीय रूपमा भारत जानुलाई अर्थपूर्ण मानिएको छ । बुधबार बिहान नेपाली सेनाको पुमा हेलिकोप्टरबाट उनीहरू नेपालगञ्ज पुगेका थिए। नेपालगञ्जबाट न्यायाधीशद्वय प्रधान र सिन्हा एउटै गाडीमा भारत लागेको स्रोतले बताएको छ ।

प्रधानन्यायाधीश जबरामाथि गम्भीर प्रश्न उठाएर राजीनामा मागिएकै बेला प्रधान र सिन्हा भारत किन गए भन्ने खुलेको छैन ।यता प्रधानन्यायाधीश जबरा भने महाअभियोगको सामना गर्न तयार भएपनि राजीनामाको विषयमा सकारात्मक छैनन् ।