एक जनाले मात्रै होइन, पाँचै जना न्यायाधीशहरूले राजीनामा दिनुपर्छः ओली

एक जनाले मात्रै होइन, पाँचै जना न्यायाधीशहरूले राजीनामा दिनुपर्छः ओली

काठमाडौं । गठबन्धन सरकारमा मन्त्रीको भाग खोजेको आरोपमा प्रधानन्यायाधीश चेलेन्द्र शमशेर जबराको राजीनामाको कुरा उठिरहेका बेला नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतका पाँच जना न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका छन् । 

मंगलबार एमालेको पालिका अधिवेशनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले परमादेशबाट सरकार बनेपछि अदालतमा पनि समस्या देखिएको भन्दै परमादेश दिने पाँचै जनाले नै राजीनामा दिनुपर्ने बताएका हुन् । 

परमादेशबाट सरकार गठन भएपछि सर्वोच्च अदालतमा समस्या देखिएको भन्दै क–कसले के के गरेको भन्ने कुरा पनि खुलेको बताए । उनले परमादेश पाँच जनाले मिलेर दिएकाले अहिले राजीनामा पनि उनीहरु पाँचै जनाले दिनुपर्ने तर्क गरे । 

उनले भने, ‘एक जनाले मात्र होइन परमादेश दिने पाँचै जनाले सर्वसम्मत फैसला गरेको होइन ?  एक जनाले मात्रै राजीनामा गर्ने ? पाँचै जनाले राजीनामा गर्ने होइन ?,’

प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेको भन्दै चौतर्फी राजीनामाको माग उठिरहेका बेला राजनीतिक दल भने मौन छ । यस्तैमा एमाले अध्यक्ष ओलीले एक जनाले मात्रै नभई पाँच जनाले नै राजीनामा दिनुपर्ने तर्क गरेका हुन् । 

गत असार २८ मा सर्वोच्च अदालतले परमादेश जारी गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको थियो भने ओली प्रधानमन्त्रीबाट हटेका थिए  ।