भीम रावलले दिए कार्यदल संयोजक पदबाट राजीनामा

भीम रावलले दिए कार्यदल संयोजक पदबाट राजीनामा

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलको संयोजक पदबाट राजीनामा दिएका छन् ।

केन्द्रीय कमिटी र स्थायी कमिटीबाट पारित भएको १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीबाट कुनै सहयोग नभएको भन्दै उनले संयोजक पदबाट राजिनामा दिएका हुन् । पार्टीमा भएको छलफल र कार्यदलको निर्णय लागू नहुने अवस्थामा सो पदमा बसीरहन उचिन नभएकाले राजीनामा दिएकाे बताए । 

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै कमिटीबाट पारित भएका बुँदाहरु पालना हुनुपर्नेमा जोड दिए । तत्कालिन अवस्थामा १० बुदे सहमति केन्द्रीय कमिटीबाट पारित भएकाे तर १२ बुँदे अन्तर पार्टी निर्देशन जारी गरिसक्दा समेत पार्टीको निर्णय कार्यान्वयन नहुनु दुःखद् भएको उनले धारणा व्यक्त गरे । उनले भोलि राजीनामा पत्र पेश गर्ने तयारी गरेका छन् । 

तत्कालीन माधव समूह र ओली समूहबीच १० बुँदे सहमति भएको थियो । तर माधवकुमार नेपालले एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) बनाए भने उनलाई साथ दिएकाहरु अहिले एमालेमै छन् ।