सीके राउतविरुद्ध माइतीघरमा प्रदर्शन

सीके राउतविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएशन, वाग्मती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

बिहीबार खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश कुशवाहालगायत कार्यकर्ताहरुमाथि सीके राउतको पार्टी जनमतका कार्यकर्ताले गरेको दुव्र्यवहारविरुद्ध आज प्रदर्शन गरेका हुन् । 

सो विरोध प्रदर्शनका क्रममा देशले निजामती कर्मचारीहरूको महत्त्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रमण हुनुले देश र कानुनको धज्जी उडाएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बताए । उनले यस्तो दुष्कर्ममा सामेल हुने सबैलाई पक्राउ गरी कानुनी कारबाही गरिनुपर्ने माग गरे ।  जनकपुर घटनाले मानिस पुनः ढुंगेयुगमा फर्किएको भाग हुने उनले बताए । 

त्यस्तै नेपाल इन्जिनियर एसोसिएशन वाग्मती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले कार्यालय प्रमुखमाथि भएको दुर्व्यवहार हिंस्रक भएको भन्दै यस्तो आपराधिक गतिविधिमा संलग्न हुने र संलगन गराउने नायिकेलाई कारबाही गरिनुपर्ने धारणा राखे । उनले जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको टोलीले २९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमानपूर्वक सहर परिक्रमा गराउनु अफगानिस्तानमा तालिबानले गराएको जस्तो भएको बताए । उनले सीके राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।