छिमेकी मुलुकसँग फाइदा लिन सरकार नचुकोस्ः गगन थापा

छिमेकी मुलुकसँग फाइदा लिन सरकार नचुकोस्ः गगन थापा

काठमाडौ । सत्तारुढ नेपाली कांग्रेसका युवा नेता गगन थापाले दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिने मौका सरकारले गुमाउन नहुने बताएका छन् । 

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘आजको दिनमा भारत र चीनलाई केन्द्र बनाएर राजनीति होस् या खास गरी विश्वको अर्थतन्त्र सबै गतिविधि केन्द्रित छ । त्यसको नजिकमा हामी छौँ । यो आगामी १०, १५, २० सम्म रहन सक्छ ।’ उनले थपे, ‘हामी छिमेकी मुलुकबाट लाभ लिन सक्यो भने सक्यो, नत्र यो मौका गुम्नेछ ।’

सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदैए पूर्वमन्त्रीसमेत रहेका थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको बताए । उनले विद्युत् खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । ‘सरकारले जुन गति समात्नु पर्ने थियो, त्यो सकेको छैन’ नेता थापाले भने, ‘हामीले जसरी २००७ सालपछिको समय खेर फाल्यौँ । सरकारको यही गतिका कारण हामी अर्काे पनि मौका खेर पाल्दैछौं कि भन्ने डर लाग्छ । साधारण नागरिकको हैसियतले मलाई पनि त्यो डर छ ।’

यो बेला सम्हालिनुपर्ने अवस्था भएकाले हाम्रो अगाडि भएको मौकलाई समात्नुपर्ने नेता थापाले बताए । नेता थापाले देशका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै  नेपालमा बढी भन्दा बढी विद्युत खपत गर्ने बेला आएको भन्दै सरकारलाई योजनावद्ध ढंगले आफ्नो सोचहरु अघि सार्नुपर्ने धारणा राखे । त्यस्तै प्राधिकरणले आर्जेको प्रतिष्ठालाई पनि नडगमकाउन दिन कर्मचारी साथीहरुले सही ढंगका काम गर्न आग्रह गरे ।