बाटोघाटो निर्माणमा कुनै सम्झौता हुँदैनः मन्त्री यादव

बाटोघाटो निर्माणमा कुनै सम्झौता हुँदैनः मन्त्री यादव

सप्तरी । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छिन् । सप्तरीमा वर्षैदेखि अलपत्र रहेको सडकहरुको मर्मत सम्भार गर्ने भन्दै वर्षौदेखि जनताले पाइरहेको सास्तीलाई हटाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 

नेपालको पहिलो ‘टाउन प्लानिङ’ सहर राजविराजसहित जिल्लाहरुमा बाटोका कारण जनताले दुःख पाइरहेको आफूले थाहा पाएको भएपनि पहिलो आफू पदमा नभएका कारण केही गर्न नसकेको तर अहिले आफू पदमा भएकाले बाटोघाटो निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताईन् । उनले बाटोघाटो निर्माणमा कुनै सम्झौता नगर्ने भन्दै सर्वसाधारणको दुःखलाई नजिकबाट नियालेकाले चाँडै भन्दा चाँडो सडक मर्मत संभारका गतिविध सुरु गर्ने बताईन् ।

पहिले १० मिनेटमा १० किलोमिटर पुग्न सकिने ठाउँमा सडकको जीर्ण अवस्थाका कारण अहिले त्यही ठाउँमा पुग्दा अझण्डै एक घण्टा लाग्ने गरेको अनुभव उनले सुनाईन् । उनले भनिन्, ‘म पनि हिँडेको छु यो बाटो, मैले पनि दुःख पाएकी छु ।’ 
बाटोघाटो निर्माणमा समस्या आउनुमा टेन्डर प्रक्रिया र ठेकेदारको लापरबाही पनि भएकाले उनले ठेकेदारहरूसँग पनि कुरा गरेको र छिटो निर्माण सक्न निर्देशन दिएको बताईन् । 

मन्त्री यादवले ६ महिनाभित्र सप्तरीको बाटोको कायापलट गरेर सप्तरीवासी राहत दिने योजना रहेको उल्लेख गरिन् । सबै नेताले काम थोरै र बोल्ने धेरै भएकाले मुलुकमा समस्या आएको भन्दै सबैले आ–आफ्नो स्थानबाट आ–आफ्नो जिम्मेवार पूरा गर्न सके कुनै पनि क्षेत्रमा विकृति र समस्या नरहने तर्क प्रस्तुत गरिन् ।