अर्ली इलेक्सनबारे गठबन्धनका नेतासँग परामर्श गर्छुः  देउवा

अर्ली इलेक्सनबारे गठबन्धनका नेतासँग परामर्श गर्छुः  देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन् । कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका हुन् ।

पत्रकारहरुहरुले अर्ली इलेक्सनको सम्भावनाबारे सोधेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

कांग्रेसका कतिपय नेताहरुले १४ औं महाधिवेशन सम्पन्न गरेलगत्तै ताजा जनादेशका लागि बैशाखमा संघको निर्वाचन गर्नुपर्ने आवाज उठाउने गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि केही दिन अगाडि अर्ली इलेक्सनको कुरा गरेका थिए । अर्ली इलेक्सनको बहस चले पनि बैशाख अघि स्थानीय तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता छ । तीनै चरणको निर्वाचन एकैपटक गर्नेबारे पनि गठबन्धनबीच छलफल चलिरहेको बताइन्छ ।