हिमपातका कारण हुम्लाको तुम्लिङमा ४ विदेशीसहित १२ पर्यटक फसे

हिमपातका कारण हुम्लाको तुम्लिङमा ४ विदेशीसहित १२ पर्यटक फसे

हुम्ला । हिमपातका कारण हुम्लाको तुम्लिङमा १२ जना विदेशी पर्यटक फसेका छन् । हिल्सा र लिमीको ट्रेकिङमा गएका स्लोभेनियाका ४ जना पर्यटक, ३ जना टुरगाइड र ५ जना स्थानीय नागरिक तुम्लिङमा फसेका हुन् ।

ट्रेकिङबाट सिमकोट फर्कने क्रममा ब्यापक हिमपात भएपछि उनीहरु तुम्लिङमा फसेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभएको छ । हिमपातले सिमकोट फर्कने न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरु उतै रोकिएका हुन ।

उनीहरुको साथमा आठ वटा खच्चडसमेत रहेका छन् । न्यालु लेकमा चार दिन यता बाक्लो हिमपात भईरहेको र बाटोमा तीन फिटभन्दा बढी हिउँ जमेको जनाइएको छ । उनीहरुको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका गरिदिन गृह मन्त्रालयमा आग्रह गरिएको पनि प्रजिअ आचार्यले बताए ।

मौसममा सुधार हुने वित्तिकै उनीहरुलाई उद्धार गर्ने तयारी गरिएको पनि जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । यता, सोलुखुम्बुको मेरापिक आरोहण गरी फर्कने क्रममा गत मंगलबारदेखि वेपत्ता भएका चार जना मध्ये तीन जनालाई फेला पारी उद्धार गरिएको छ । एक जना भने अझै वेपत्ता छन् ।